क्यानद्वारा पुबुदुको ठाउँमा अर्यालको नाम सिफारिस
काठमाडौँ, ७ साउन, क्रिकेट संघ नेपाल (क्यान) ले नेपाली क्रिकेटका प्रशिक्षक पुबुदु दशानायकेको ठाउँमा अरुण अर्याललाई क्रिकेट प्रशिक्षकको रुपमा सिफारिस गरेको छ । दुई महिनापछि कोरियामा हुने १७औँ एशियाली खेलकुदका लागि क्यानले अरुण अर्याललाई नयाँ प्रशिक्षकको रुपमा सिफारिस गरेको हो । क्यानको सिफारिसपछि
हालका प्रशिक्षक पुबुदु नेपाली क्रिकेट टोलीको प्रशिक्षकको रुपमा कोरिया जान नपाउने भएका छन् । क्यानले मंगलबार जारी विज्ञप्ति अनुसार केही महिना अघि क्यानडा गएका पुबुदु अब २ महिनाभित्र आउने नआउने निश्चित नभएपछि प्रशिक्षकको रुपमा अर्याललाई सिफारिस गरिएको हो । एशियाडमा तत्कालै १५ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना व्यवस्थापकको नाम पठाई हाल्नु पर्ने भएकोले पुबुदुको आउने टुङ्गो नहुँदा अर्यालको नाम पठाइएको क्यानका महासचिव उत्तमकुमार कर्माचार्यले बताए । सरकारले पुबुदुको करार अवधि १ वर्ष थपे पनि क्यान पुबुदुप्रति सन्तुष्ट देखिएको छैन । पहिले करार अवधि सकिँदा आर्थिक अभाव देखाउँदै पुबुदुको करार थप्न नसकिने जनाएको क्यानले प्रशिक्षक पुबुदुलाई हटाउनै चाहेको बताइन्छ । तर सरकारले पुबुदुको नेपाल बसाई अवधि थपिदिएपछि क्यान पछि हटेको छ ।
Source: aajakokhabar.com

No comments:
Post a Comment